जाजरकोट । बारेकोट गाउँपालिका वडा नं. १ बयाला स्थित गोरख बहादुर वि. क. को श्रीमती नलगाडको पिउली गाउँमा माइती घर भएकी वर्ष ३० की सुनिता सुनारले गए राति आफ्नै पछेउरीको पासो लगाई आत्महत्या गरेकीछिन्।
भुकम्प पीडितलाई दिएको अस्थायी टहरामा आइतबार साँझ खाना खाएर सुतेकी उनी आज बिहान पछेउरीको पासो लगाई मृत अवस्थामा भेटिएकी थिइन्। मृतक सुनिताले केही दिन अघि मात्र चौरजहारी अस्पतालमा मृत बच्चालाई जन्म दिएकी थिइन्। उनी र उनका श्रीमान गोरख केही दिन अघि मात्र स्वास्थ्य चेकजाँचका लागि दल्ली हुदै चौरजहारी अस्पतालमा पुगेपछि मृत बच्चा जन्मिएको थियो र स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पतालको परामर्श अनुसार थप चेकजाँचका लागि नेपालगञ्ज सम्म पुगेर आएका थिए।
मृतक सुनिताको श्रीमान भन्छन् हिजो साँझ खाना खाएर संगै सुतेको थियौं राती कतिखेर उता पट्टीको कोठामा गएर आत्महत्या गरिन् मलाई थाहा नै भएन कुनै झगडा कहल पनि केही पनि थिएन ।
बिहान ढोका खोल्दा मृत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय रामिडाँडालाई जानकारी गराइएको थियो। उक्त घटनाको जाँचबुझका लागि इलाका प्रहरी कार्यालय रामिडाँडाका प्रहरी निरीक्षक श्रीकुमार पौडेल सहितको टोली घटनास्थलमा पुगेर जाँचबुझ गरिदैछ।
प्रहरीले तयार पार्ने सबै मुचुल्का रिपोर्ट तयार भइसकेको र माइती पक्षको टोली पुग्नासाथ लासलाई पोष्टमार्टमका लागि नगर अस्पताल दल्ली लिइने कुरा प्रहरी निरीक्षक श्रीकुमार पौडेलले बताउनुभयो।












