काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा शनिबार राति खसेको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्।

बेपत्ता हुनेमा फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

पहिरोमा परी घाइते भएका सात जनामध्ये रामबहादुर शाहीको अवस्था गम्भीर रहेको छ। जाजरकोट जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ। अन्य घाइतेहरूमा भद्राकली कार्की, सिद्धिबहादुर कामी, केदार कार्की, मनवीर चँदरा, मोतिकला विक र मनिषा विक रहेका छन्।

पहिरोले भेरी नगरपालिका–३ स्यालास्थित पूर्णबहादुर विकको दुईतले कच्ची घर र भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पूर्ण रूपमा नष्ट गरेको छ।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोली परिचालन गरिए पनि पहिरोका कारण बाटो अवरुद्ध हुँदा टोली घटनास्थल पुग्न सकस भइरहेको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। बेपत्ताको खोजतलास जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय