जैविक विविधता संरक्षण तथा संवर्द्धन गरौं, दिगो कृषि विकास र स्वच्छ वातावरणमा टेवा पुर्याऔं भने मूल नाराका साथ FASTENAKTION र HELVETAS Nepal को आर्थिक सहयोग र सहयोगी हातहरुको समूह ( सहास नेपाल) तथा बारेकोट गाउँपालिका, कृषि विकास शाखा लिम्साको साझेदारी आयोजनामा कृषि विकास शाखा लिम्सा आज कृषि मेला प्रदर्शनी- २०८२ भव्यताका साथ सम्पन्न भएको छ।
कृषि मेला प्रदर्शनी कार्यक्रममा कृषि विकास शाखा प्रमुख शोभा पोखरेल को सभाध्यक्षतामा र बारेकोट गाउँपालिका अध्यक्ष वीर बहादुर गिरीको प्रमुख आतिथ्यमा तथा विभिन्न शाखा प्रमुख, जनप्रतिनिधि, कृषकहरुको उपस्थितमा कार्यक्रम संचालन गरिएको थियो। बारेकोटका विभिन्न ठाउँमा उत्पादित विभिन्न बाली समूहका उत्कृष्ट उत्पादनहरु प्रतिस्पर्धामा ल्याइएको थियो। जसमा तरकारी- १७३, फलफूल- ४९, खाद्यान्न बाली- ५०, दलहन बाली- ९३, मह- ३ र रैथाने बाली- ६२ प्रकारका उत्पादनहरु गरी जम्मा ४३० उत्पादन बिच प्रतिस्पर्धा गराइएको हो , प्रतिस्पर्धामा आएका उत्पादनहरु मूल्याङ्कन तथा कृषि मापदण्डका आधारमा मूल्याङ्कन समितिले निकालेको नतिजा अनुसार कृषकहरूलाई पुरस्कृत गरिएको हो।
प्रदर्शनीमा ल्याइएका उत्पादनहरुमा खाद्यन्न बालीमा जानुका पुन, रैथाने बालीमा निर्मला वि. क. दलहन बालीमा रिता घर्ती, महमा रमेश खत्री तरकारी बालीमा आशा कुमारी शाही सिंह, फलफुलमा हस्त बहादुर रोकाय प्रथम भएका छन्। स्थान हासिल गर्नेलाई प्रमाण पत्र पुरस्कार तथा अन्य सहभागी कृषकहरूलाई गाडीभाडा व्यवस्था स्वरुप केही रकम दिएको थियो। कार्यक्रमका आकर्षणहरु नमूना घर बगैंचा, सामुदायिक बिउ बैंक स्टल र रैथाने बालीका आधुनिक परिकार स्टल जस्ता प्रमुख आकर्षणहरु सहास नेपालद्वारा गठित महिला कृषक समूहले प्रर्दशन गरेका थिए।
उत्कृष्ट कृषकहरूको सम्मान र सहभागीहरूको उत्साहले बारेकोटमा कृषिको ठूलो सम्भावना रहेको पुष्टि गरेको छ। स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गर्दै जैविक विविधता जोगाउने यो अभियानले भविष्यमा दिगो कृषि विकास र स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।”












