बारेकोट, जाजरकोट ।
बाल अधिकारको रक्षा, सम्वर्द्धन र समाजमा व्याप्त विभेद तथा कुप्रथा विरुद्ध अभियान गर्दै कराइचुली सम्वाद ग्रयाजुएट फोरमको आयोजना एवं सहयोगी हातहरुको समूह (सहास) नेपालको सहयोगमा भाद्र १८ गते बारेकोट गाउँपालिका–२, रोकायगाउँस्थित जनता आधारभूत विद्यालयको प्राङ्गणमा‘बाल अधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रम’ सम्पन्न भएको छ ।
स्थानीय समुदाय, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको उक्त विशेष कार्यक्रममा ग्रयाजुएट फोरममा आबद्ध ऊर्जावान् बालबालिकाहरूले बाल अधिकारका विविध आयाम, बालविवाह, बालबालिकामाथि हुने हिंसा, विभेद र शिक्षाको महत्त्वलाई उजागर गर्दै अत्यन्तै मर्मस्पर्शी तथा जीवन्त जनचेतनामूलक नाटक प्रस्तुत गरेका थिए । बालबालिकाहरूको उत्कृष्ट अभिनय, प्रखर संवाद र सशक्त सन्देशले उपस्थित सम्पूर्ण दर्शक तथा अभिभावकहरूलाई चकित बनाएको थियो ।
कसैले पनि बाल अधिकारको हनन गर्नुहुदैन जुनसुकै ठाउँमा हुने बाल हिंसा, शोषनको विरुद्ध सबै एकजुट भएर लाग्नुपर्छ भन्ने कार्यक्रमको मुल सन्देश रहेको थियो।
सहास नेपाल र ग्रयाजुएट फोरमको यो संयुक्त प्रयास निकै प्रभावकारी देखिन्छ।






