बारेकोट, जाजरकोट । “Fastenaktion, HELVETAS Nepal र सहयोगी हातहरुको समूह SAHAS Nepal को साझेदारीमा बारेकोट गाउँपालिकामा सञ्चालित “पर्यावरणीय कृषिद्वारा साना किसानहरुको खाद्य सुरक्षा र पोषण सुधार परियोजना – दोश्रो चरण”का गतिविधिहरूको आज विस्तृत अनुगमन तथा मूल्याङ्कन गरिएको छ। गाउँपालिका अध्यक्षसहितको टोलीले परियोजनाअन्तर्गत भएका कृषि सुधार र सामाजिक सचेतनाका कामहरूको स्थलगत निरीक्षण गरेको हो।
’कृषिबाट आत्मनिर्भरतातर्फ महिला समूह’
अनुगमन टोलीले बारेकोट–२ अयर्नास्थित चेतनशील महिला कृषक समूह र बारेकोट–३ खारास्थित हरियाली महिला कृषक समूहले सञ्चालन गरेका विभिन्न व्यावसायिक क्रियाकलापहरूको अवलोकन गरेको थियो।
अनुगमन टोलीले कृषकहरूले निर्माण गरेका करेसाबारी, नर्सरी, गडेउला मल उत्पादन र जैविक विषादी निर्माण केन्द्रको निरीक्षण गरेको थियो। कृषक महिलाहरूले फुर्सदको समयमा परालको गुन्द्री बुन्ने, समूहमा बचत तथा ऋण परिचालन (कोष निर्माण) गर्ने र महिनाको एक पटक ‘सीप आदानप्रदान’का लागि एकअर्काको फर्म अनुगमन गर्ने जस्ता उदाहरणीय कार्य गरिरहेका छन्।
कृषकहरुका अनुसार सहास नेपालले कार्यक्रम संचालन गतेदेखि खेती गर्ने प्रविधि मात्र नभई, बोलिचाली, नेतृत्व क्षमता र आत्मनिर्भर बन्ने आत्मविश्वासमा समेत ठूलो परिवर्तन आएको छ।
बालविवाह विरुद्ध किशोरीहरूको नाटक
अनुगमनकै क्रममा बारेकोट- ३ खारामा कराइचुली किशोरी सम्वाद समूहले बालविवाह न्यूनीकरण सम्बन्धी सचेतना अभियान सञ्चालन गरेको थियो। किशोरीहरूले बालविवाहका कारण निम्तिने शारीरिक, मानसिक र सामाजिक समस्याहरूलाई समेटेर मर्मस्पर्शी नाटक प्रस्तुत गरेका थिए। उनीहरूले आफ्नो क्षेत्रमा बालविवाह पूर्ण रूपमा रोक्ने संकल्प समेत व्यक्त गरे।
’स्थानीय सरकारको प्रतिबद्धता’
कार्यक्रमका प्रमुख अतिथि बारेकोट गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीले महिला र किशोरीहरूको सक्रियता देख्दा आफू उत्साहित भएको बताउनुभयो। अध्यक्ष गिरीले भन्नुभयो, “उत्पादनसँगै सामाजिक चेतना जोडिनु निकै सकारात्मक पक्ष हो। गाउँपालिकाले यस्ता आत्मनिर्भरतामुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर आगामी नीति तथा कार्यक्रममा समेट्नेछ।”
परियोजनाको उदेश्य परम्कापरागत खेतीलाई संरक्षण र पर्यावरणमैत्री कृषि उत्पादनमा जोड दिने र कृषकहरूको जीवनस्तर उकास्ने साथै आत्मनिर्भर बनाउने रहेको परियोजना संयोजक अस्मिता घिमिरेले बताउनुभयो ।
अनुगमन कार्यक्रममा बारेकोट गाउँपालिकाका विभिन्न शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। टोलीले परियोजनाको प्रभावकारिता सन्तोषजनक रहेको र यसले स्थानीयको जीवनस्तर उकास्न मद्दत पुगेको निष्कर्ष निकालेको छ।












