जाजरकोट, बारेकोट गाउँपालिका वडा नं. -१ सिर्पाचौरमा २०७८ सालमा स्थापित स्वास्थ्य इकाई बन्द भएको झण्डै ४ वर्ष पुग्यो। राजनीतिको कारण बन्द भएका स्थानीयको भनाइ छ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको सिर्पाचौरको बस्तीमा संघीयता पछिको पहिलो स्थानीय सरकार बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहको कार्यकालमा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाई हालको सरकारको कार्यकालमा बन्द भएको छ। स्वास्थ्य संस्था सुचारु हुनु र बन्द हुनुमा राजनीतिक चलखेल रहेको सिर्पाचौरका स्थानीय बासी दल बहादुर बुढाले बताउनुभयो।
पहिलेको सरकारले सामुदायिक स्वास्थ्य इकाईमा अवैधानिक ढंगले कर्मचारी आफ्नै पार्टीका कार्यकर्ता भर्ती गरेको भन्दै हालको सरकारले उक्त स्वास्थ्य इकाई नै खारेज गरेको र आफुले नीति र विधिका साथ संचालन गर्ने भन्दै संस्था बन्द गरिएको र अहिले पनि संस्था संचालन गर्न हालको सरकारले पनि आफ्नो कार्यकर्ता भर्ती गर्न खोजेको हुँदा हामीले नमानेपछि संस्था बन्द अवस्थामा रहेको बुढाको भनाइ छ।
राजनीति प्रतिशोधका कारण जनताको जीउ ज्यान संग खेलवाड गर्नु घोर आपत्तिजनक र अपराधमूलक कार्य हो । उक्त विषयमा सम्वन्धित सरोकारवाला निकायले तत्काल छानबिन गरियोस् र स्वास्थ्य सेवा सुचारु गरी जनताको समस्या समाधान गरियोस्।












