डोल्पा, त्रिपुरासुन्दरी । नेपाल सरकारको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संयुक्त राष्ट्रसंघ (UNDP/A2J) परियोजना र पहाडी क्षेत्र विकास अभियान (HRDC) जाजरकोटको साझेदारीमा सञ्चालित “कानुनी सहायता, कानुनी सचेतना र जबाफदेहितामार्फत कर्णाली प्रदेशका महिला तथा सिमान्तकृत समुदायका लागि न्यायमा पहुँच अभिवृद्धि गर्ने परियोजना” अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिकाका ११ वटै वडामा कानुनी सचेतना अभियान सञ्चालन गरिएको छ।
कानुनी सचेतनाबाट नागरिकता र परिचयपत्रमा सहजता
अभियानका क्रममा HRDC का सामाजिक परिचालक श्री टबिन कार्की नेतृत्वमा प्रत्येक वडामा पुगेर नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली दर्ता र अन्य कानुनी अधिकारबारे सचेतना फैलाइएको थियो।
कार्कीको निरन्तर सक्रियताले करिब ५५ जनाले राष्ट्रिय परिचयपत्र र मतदाता नामावली प्रमाणपत्र बनाएका छन् भने ५ जनाले नयाँ नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेका छन्।
वृद्ध नागरिकलाई पहिलोपटक नागरिकता
यस अभियानबाट ७० वर्षका वृद्ध हइते रोकाया र कालु रोकायाले लामो समयपछि पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। यसले स्थानीय बृद्ध नागरिकहरूमा खुशी र भरोसा जगाएको छ।
सिफारिसमा समस्या हुँदा पनि समाधान
कागजात सिफारिसका क्रममा केही वडाबाट सिफारिस नदिएको अवस्थामासमेत सामाजिक परिचालक टबिन कार्कीले हार मानेनन्।
उनीले जिल्ला प्रशासन कार्यालयका प्रमुख श्री भिम प्रकाश कोइरालासँग फोनमार्फत प्रत्यक्ष वार्ता गरी सिफारिस प्रक्रिया सहज बनाउन पहल गरेका थिए।
उनको त्यस सक्रियताले धेरै नागरिकले कागजात बनाउन सफल भएका छन्।
स्थानीय नेतृत्व र प्रशासनको सहकार्य
कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाकी उपप्रमुख देवी घर्तीले पनि सहयोग पुर्याउँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता सम्बन्धी कार्य सहज बनाउन पहल गरेकी थिइन्।
मुख्य जिल्ला अधिकारी भिम प्रकाश कोइरालाको विशेष सहयोगका कारण नागरिकता वितरणमा सहज वातावरण बनेको स्थानीयले बताएका छन्।
प्रशंसा र प्रेरणा स्थानिय नागरिक र जनप्रतिनिधिहरूले HRDC र साझेदार संस्थाको यो प्रयासको उच्च प्रशंसा गरेका छन्।
जिल्ला प्रशासन र नगरपालिका दुवैले संस्थाको जवाफदेहितापूर्ण काम, नागरिक हितमा गरिएको पहल र प्रभावकारी अभियानप्रति धन्यवाद ज्ञापन गरेका छन्।












