- बारेकोट, जाजरकोट । बालविवाह जस्तो सामाजिक कुरीतिलाई न्यूनीकरण गर्ने उद्देश्यले सहयोगी हातहरुको समूह (सहास) नेपालको आर्थिक सहयोग तथा हिमालय किशोरी सम्वाद समूहको आयोजनामा आज जनता आधारभूत विद्यालय बारेकोट- २ रोकायगाउँमा बाल विवाह न्यूनिकरण सम्बन्धी जनचेतनामुलक अभियान संचालन गरिएको कार्यक्रम सम्पन्न भएको छ।

अभियानमा बारेकोट- २ का वडा सदस्य मानबहादुर सिंह, सहास नेपाल बारेकोट परियोजना संयोजक अस्मिता घिमिरे, जनता आवि रोकायगाउँका शिक्षक स्टाफ, हिमालय किशोरी सम्वाद समूहका टिम, स्थानीय महिला समूह लागाएतको ठुलो उपस्थित रहेको थियो।
आज सम्पन्न भएको उक्त कार्यक्रमले स्थानीय समुदाय, विशेषगरी किशोरकिशोरी र अभिभावकहरूलाई बालविवाहका कानुनी तथा सामाजिक-स्वास्थ्यसम्बन्धी नकारात्मक असरहरू बारे जानकारी गराएको छ।कार्यक्रममा नेपालको कानुन अनुसार विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकिएको र सोभन्दा कम उमेरमा विवाह गर्नु वा गराउनु दण्डनीय अपराध रहेको बारे सचेतना दिइएको थियो।कम उमेरमा विवाह गर्दा किशोरीहरूको स्वास्थ्यमा पर्ने असर (जस्तैः गर्भावस्था र प्रसूतिमा जोखिम), शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था, र पारिवारिक तथा सामाजिक जीवनमा आउने जटिलताहरू बारे विस्तृत जानकारी गराएको थियो। कार्यक्रममा जिम्मेवार व्यक्तिहरु र सहभागी सबैले बाल विवाह नगर्ने नगराउने प्रतिवद्धता व्यक्त गरेका छन्।
विद्यमान समाजमा रहेको बाल विवाह जस्तो गम्भीर समस्या न्यूनीकरणका लागि अझै थप अभियान तथा कार्यक्रम संचालन गर्दै जाने र यो कार्यक्रम शुरुवाती रहेको सहास नेपाल बारेकोट की परियोजना संयोजक अस्मिता घिमिरेले भन्नुभयो।
यस अभियानले बारेकोट गाउँपालिकामा विद्यमान बालविवाहको उच्च दरलाई घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।












