काठमाडौं। रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक पुरुषले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । घरायसी विवादले उग्र रूप लिँदा चौरजहारी नगरपालिका-३, टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले ३० वर्षीया श्रीमती देविका बुढाथोकीको ज्यान लिएका हुन् ।जिल्ला प्रहरी प्रमुख (डीएसपी) प्रमेश विष्टका अनुसार, गएराति मध्यरातमा घरमै भएको विवादका क्रममा चन्द्रबहादुरले श्रीमती देविकाको घाँटीमा धारिलो खुकुरी प्रहार गरेका थिए । गहिरो चोटका कारण देविकाको घटनास्थलमै मृत्यु भएको थियो ।घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा खटिएको टोलीले राति नै चन्द्रबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको हो । प्रहरीले हत्यामा प्रयोग भएको खुकुरीसमेत बरामद गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमान-श्रीमतीबीच लामो समयदेखि मनमुटाव र झगडा हुने गरेको खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । मृतक देविकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।












