आफ्नो खेतबारी र घरपरिवारको जिम्मेवारी एक्लै सम्हाल्दै आएका धौलाकोटका महिलाहरू आज सुखदुःखका साथी बनेका छन्। सिर्जनशील महिला कृषक समूहले उनीहरूलाई आत्मनिर्भर बन्ने मात्र होइन, अप्ठ्यारोमा एकअर्काको सहारा बन्ने संस्कार पनि सिकाएको छ।

‎धौलाकोट, जाजरकोट।

‎जाजरकोटको बारेकोट गाउँपालिका–१ स्थित धौलाकोटमा बिहानको झिसमिसेदेखि साँझ नपर्दासम्म महिलाहरूको दिन घरायसी काम र खेतीपातीमै बित्ने गर्थ्यो। पुरुषहरू परिवारको जीविकोपार्जनका लागि भारतमा ज्याला मजदुरी गर्न जाने भएकाले घरपरिवार, बालबच्चाको हेरचाह र खेतीपातीको सम्पूर्ण जिम्मेवारी महिलाकै काँधमा थियो। खेतबारीमा काम गर्ने, घर चलाउने र छोराछोरीको पढाइ लेखाइको व्यवस्था मिलाउने उनीहरूको दैनिकी थियो।

‎दिनभरि काममा व्यस्त हुने यी महिलासँग आफ्ना दुःखसुख बाँड्ने, सामूहिक रूपमा छलफल गर्ने वा एकअर्कालाई सहयोग गर्ने अवसर भने निकै कम थियो। गाउँमा कसैलाई समस्या पर्दा पनि त्यो उसको व्यक्तिगत समस्या जस्तै मानिन्थ्यो। घरेलु हिंसा, विभेद र अन्य सामाजिक समस्याबारे खुलेर बोल्ने वातावरण समेत थिएन। पुरुषको अनुपस्थितिमा खेतीपाती गर्न नसक्दा कतिपय जमिन बाँझै रहने अवस्था थियो।

‎तर अहिले धौलाकोटका महिलाहरूको दैनिकी र सोचमा बिस्तारै परिवर्तन आउँदै छ। उनीहरू अब आफ्ना समस्या आफैँभित्र सीमित राख्दैनन्, बरु सामूहिक रूपमा छलफल गर्छन् र समाधानका लागि एकअर्काको साथ खोज्छन्।

‎सहास नेपालद्वारा सञ्चालित पर्यावरणीय कृषि परियोजनाको सहजीकरणमा २०७९ साल मंसिरमा गठन भएको सिर्जनशील महिला कृषक समूह यस परिवर्तनको एउटा उदाहरण बनेको छ। सुरुमा एकल महिला, अपाङ्गता भएका महिला तथा आर्थिक रूपमा विपन्न महिलाहरूलाई प्राथमिकतामा राखेर गठन गरिएको यस समूहमा हाल २५ जना सदस्य आबद्ध छन्।

‎समूह गठन भएपछि महिलाहरूले नियमित बैठक बस्न, आफ्ना समस्या र अनुभव बाँड्न तथा सामूहिक बचत गर्न थाले। समूह व्यवस्थापन, लैङ्गिक सचेतना, नेतृत्व विकास, सामूहिक कार्य तथा बचत परिचालनसम्बन्धी तालिम र स्थानीय तहका विभिन्न अन्तरक्रियामा सहभागी हुँदै उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमता बढ्दै गयो।

‎समयसँगै समूह महिलाहरूका लागि बचत गर्ने र बैठक बस्ने ठाउँमा मात्र सीमित रहेन। उनीहरूले गाउँका साझा समस्या पहिचान गर्न, सरसफाइ अभियान सञ्चालन गर्न, घरेलु हिंसामा परेका महिलालाई आवश्यक सल्लाह र सुझाव दिन तथा स्थानीय योजना तर्जुमा प्रक्रियामा आफ्ना माग र आवश्यकता प्रस्तुत गर्न थाले। वातावरणीय सरसफाइमा समेत सामूहिक अनुगमन र सचेतना अभिवृद्धि गर्न थालेका छन्। खाद्य सुरक्षा र पोषणमा सुधार ल्याउने उद्देश्यले बाँझो जमिनमा सामूहिक खेती गरी उत्पादन वितरण गर्ने अभ्याससमेत सुरु गरेका छन्।

‎

‎एउटीको दुःखमा सबैको साथ

‎समूहको वास्तविक शक्ति भने ४२ वर्षीया सदस्य धनसरी नेपालीलाई कठिन परिस्थिति आइपर्दा देखियो।

‎पाँच सदस्यीय परिवारकी धनसरीका दुई छोरा र एक छोरी छन्। दुई सन्तान काठमाडौँमा र एक छोरा गाउँमै बसेर अध्ययन गरिरहेका छन्। श्रीमान् गाउँमै ज्याला मजदुरी गरेर परिवारको खर्च जुटाउँछन् भने घरायसी काम र खेतीपातीको जिम्मेवारी धनसरीले सम्हाल्दै आएकी थिइन्। 

‎एक दिन भैँसी चराउन गोठालो गएका बेला उनी दुर्घटनामा परिन्। उनको ढाडमा गम्भीर चोट लाग्यो र हिँडडुल गर्नसमेत कठिन भयो। उपचारका लागि अस्पताल जानुपर्ने भएपछि घरको नियमित काम र खेतीपाती सबै प्रभावित भयो।

‎त्यतिबेला गहुँ काट्ने मौसम थियो। खेतमा गहुँ पाकेर काट्न तयार थियो। तर धनसरीको स्वास्थ्य अवस्थाका कारण खेतमा गएर काम गर्न सक्ने अवस्था थिएन। श्रीमान् पनि घरखर्च जुटाउन काममा व्यस्त हुँदा गहुँबाली खेतमै नष्ट हुने जोखिम बढ्यो।

‎यस्तो अवस्थामा सिर्जनशील महिला कृषक समूहका सदस्यहरूले धनसरीको समस्या आफ्नै समस्या ठाने। सबै सदस्यहरू मिलेर उनको खेतको गहुँ काटे, संकलन गरे र घरसम्म पुऱ्याइदिए। अस्पतालबाट फर्केपछि पनि धनसरी पूर्ण रूपमा काम गर्न सक्ने अवस्थामा थिइनन्। त्यसैले समूहका दिदीबहिनीहरूले मकै गोडमेललगायत खेतीपातीका काममा समेत सहयोग गरिरहे।

‎आफूले गर्नुपर्ने काम अरूले गरिदिँदा धनसरीको परिवारलाई ठूलो राहत मिल्यो। पाकेको गहुँबाली जोगियो र परिवारले थप आर्थिक क्षति बेहोर्नुपरेन। तर धनसरीका लागि यो सहयोग गहुँबाली भित्र्याउन पाएको राहतमा मात्र सीमित थिएन। अप्ठ्यारो परिस्थितिमा आफू एक्लो छैन भन्ने विश्वास र आत्मबल पनि यसले दिएको थियो।

‎धनसरी भन्छिन्, “मलाई यस्तो गाह्रो पर्दा समूहले धेरै सहयोग गरेको छ। मलाई आँट र भरोसा दिएको छ। समूहले गरेको यो सहयोग म कहिल्यै बिर्सिने छैन। म पनि सधैँ यो समूहलाई अगाडि बढाउन लागिरहनेछु र आफूले सकेको बेला अरूलाई सहयोग गर्नेछु।”

‎धनसरीको अनुभव समूहभित्रको आपसी सम्बन्ध र एकताको एउटा उदाहरण मात्र हो। समूहकी अध्यक्ष गीता नेपालीका अनुसार समूहमा आबद्ध भएपछि महिलाहरूले एकअर्काको समस्या बुझ्ने र अप्ठ्यारोमा सहयोग गर्ने संस्कार विकास गरेका छन्।

‎उनी भन्छिन्, “समूहले समस्या पर्दा सहारा दिने काम गरेको छ। हामी समूहमा आबद्ध नभएको भए धनसरी दिदीको घरको अवस्था झन् कठिन हुने थियो। समूहमा भएकै कारण आज उहाँ बिरामी पर्दा पनि उहाँको बालीबिरुवामा क्षति हुन पाएन। हामीमध्ये एउटालाई दुःख पर्दा सबैलाई दुःख लाग्छ। त्यसैले सबै जना मिलेर सहयोग गर्छौँ। आजको आवश्यकता पनि यस्तै सामूहिक भावना हो।”

‎बचत समूहबाट सामाजिक एकताको उदाहरणसम्म

‎सिर्जनशील महिला कृषक समूहको यात्रा केवल बचत संकलन र खेतीपातीमा सहयोग गर्ने अभ्यासमा मात्र सीमित छैन। यसले महिलाहरूमा सामूहिक निर्णय गर्ने क्षमता, नेतृत्व विकास र सामाजिक जिम्मेवारीको भावना पनि बढाएको छ।

‎पहिले गाउँमा हुने छलफल र निर्णय प्रक्रियामा कमै सहभागी हुने महिलाहरू अहिले आफ्ना आवश्यकता र प्राथमिकताहरू पहिचान गरी स्थानीय योजना तर्जुमा प्रक्रियामा प्रस्तुत गर्न थालेका छन्। वातावरणीय कृषि अभ्यासमार्फत उत्पादन र खाद्य सुरक्षामा सुधार ल्याउने उनीहरूको प्रयाससँगै उनीहरू सामाजिक समस्याको पहिचान र समाधानमा पनि सक्रिय छन्।

‎यस समूहले देखाएको अर्को महत्त्वपूर्ण पक्ष भनेको व्यक्तिगत समस्यालाई सामूहिक जिम्मेवारीका रूपमा लिन सक्ने संस्कारको विकास हो। धनसरीको खेतमा पाकेको गहुँ भित्र्याउन गरिएको सहयोग सामान्य श्रमदान मात्र थिएन; त्यो महिलाहरूबीच विकसित हुँदै गएको विश्वास, आत्मीयता र सामाजिक एकताको प्रत्यक्ष उदाहरण थियो।

‎सामूहिक खेती, पर्यावरणीय कृषि र एकताको निरन्तरता

‎आगामी दिनमा पर्यावरणीय कृषि अभ्यासलाई थप प्रवर्द्धन गर्ने, सामूहिक खेती विस्तार गरी उत्पादन वृद्धि गर्ने र समूहको एकतालाई अझ बलियो बनाउने योजना सदस्यहरूको छ। व्यक्तिगत तथा सामुदायिक समस्या पहिचान गर्दै आपसी सहकार्यबाट समाधान खोज्ने उनीहरूको प्रतिबद्धता छ।

‎धौलाकोटका यी महिलाहरूको परिवर्तनले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ— महिला सशक्तीकरण भनेको तालिम लिनु, बचत गर्नु वा आम्दानी बढाउनु मात्र होइन। आफ्नो आवाज उठाउन सक्नु, निर्णय प्रक्रियामा सहभागी हुनु र अप्ठ्यारोमा एकअर्काको हात समात्न सक्नु पनि सशक्तीकरणका महत्त्वपूर्ण आधार हुन्।

‎आज सिर्जनशील महिला कृषक समूहका महिलाहरूले यही अभ्यासलाई आफ्नो जीवनको हिस्सा बनाउँदै लगेका छन्। उनीहरूको कथा ठूलो आर्थिक उपलब्धिको मात्र कथा होइन; यो विश्वास, आत्मीयता र सामूहिक जिम्मेवारीको कथा हो।

‎किनकि एउटी महिलालाई दुःख पर्दा सबैले आफ्नो दुःख ठान्ने समाज निर्माण हुनु नै वास्तविक महिला एकता र सामूहिक सशक्तीकरणको सुन्दर उदाहरण हो।  


‎

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ताजा अपडेट